श्री हनुमान जयन्ती समारोह २०८२ सम्पन्न
हनुमान जयन्ती को पावन अवसरमा आयोजित “श्री हनुमान जयन्ती समारोह २०८२” विविध धार्मिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ। मिति २०८२ साल चैत्र १९ गते चैत्र शुक्ल पूर्णिमाका दिन सम्पन्न समारोहमा ठूलो संख्यामा धर्म अनुरागी श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको थियो।
समारोहमा वैदिक विधि विधानअनुसार श्री हनुमत पूजन, हनुमान चालिसा पाठपारायण तथा विशेष धार्मिक अनुष्ठानहरू सम्पन्न गरिएको आयोजक संस्थाले जनाएको छ। यस अवसरमा हनुमानजी वीर बजरङबली बाबालाई ५१ केजीको लड्डु भोग अर्पण गरिएको थियो भने लक्ष्य दीप प्रज्वलन, अखण्ड श्री हरिनाम संकीर्तन तथा १२ घण्टे विशेष सन्ध्या आरतीसमेत सम्पन्न गरिएको थियो।
यसै अवसरमा संस्थाको १३औँ गरिमामय वार्षिक साधारण सभा पनि सम्पन्न भएको जनाइएको छ।
समारोह सफल बनाउन सहयोग गर्ने संरक्षक, मानार्थ संरक्षक, सदस्य, आजीवन सदस्य, चन्दादाता, विभिन्न समितिका पदाधिकारी तथा सदस्यहरू साथै सम्पूर्ण श्रद्धालु भक्तजनहरूप्रति आयोजक संस्थाले आभार व्यक्त गरेको छ।
